स्याउ-चीज मिक्स स्यान्डविच

आवश्यक सामग्रीः
पाउरोटी ४ स्लाइस
स्याउ १ वटा
चीज १०० ग्राम
चीज स्प्रेड २ टेबल चम्चा
बटर २५ ग्राम

विधिः सर्वप्रथम स्याउको बोक्रा निकालेर कोरेसोमा कोर्नुपर्छ । त्यसै गरी चीजलाई पनि कोरेसोमा कोर्नुपर्छ । अनि यी दुवैलाई एउटा बावलमा हालेर राम्ररी मिलाउनुपर्छ । त्यसपछि पाउरोटीको पनि चारैतिरको किनाराको भाग काटेर हटाउनुपर्छ । यति गरेपछि एउटा पाउरोटी लिएर एकापट्टिको भागमा चीज स्प्रेड लगाउनुपर्छ । चीज स्प्रेड लगाएपछि अगाडि तयार गरिएको स्याउ र चीजको मिश्रणलाई त्यसमाथि हालिदिनुपर्छ ।

त्यसपछि उक्त पाउरोटीलाई माथिबाट छोप्नका लागि अर्को पाउरोटीको एक साइडमा बटर दल्नुपर्छ अनि सो बटर दलेको भाग भित्र पर्ने गरी माथिबाट छोपिदिनुपर्छ । बाँकी दुई पाउरोटीलाई पनि यसै गर्नुपर्छ । सादा पाउरोटीको सट्टा यसरी तयार गरिएको स्यान्डविचबाट बढी क्यालोरी र प्रोटिन प्राप्त हुन्छ । साथै खाऊँ–खाऊँ लाग्ने पनि हुन्छ ।